फाइल तस्विरः महेश बस्नेत

काठमाडौं, २२ असोज–नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भएर बयान कागज गरेका छन्।

विद्युतीय कारोबार ऐनअन्तर्गतको मुद्दामा कागज गराउन बस्नेत बुधबार बिहान भोटाहिटीस्थित ब्युरोमा उपस्थित भएका हुन्। उनले आफूमाथि लागेको आरोपको सन्दर्भमा बयान कागज गराएर फर्किएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

‘उहाँ बिहान उपस्थित हुनुभएको हो। सरकारी वकिलको निर्देशन बमोजिम उहाँको कागज गराएका छौं। फर्किसक्नुभएको छ,’ उनले भने।

यसअघि प्रहरीले जिल्ला अदालत काठमाडौंमा बस्नेतविरूद्ध पक्राउ पुर्जीसमेत माग गरेको थियो। तर अदालतले पुर्जी दिन अस्वीकार गरेको हो। पुर्जी दिन नमानेसँगै कागज गरिएको हो।

कुनै पनि आरोपित वा प्रतिवादीको बयान सरकारी वकिलको कार्यालयमा हुन्छ। बयान सरकारी वकिलको रोहबरमा लिने गरिन्छ। बयान कागज भने प्रहरीले आफ्नै कार्यालयमा लिन्छ।

एक महिलाले आफूमाथि सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाएकी थिइन् भने सुरूमा ब्युरोमा जाहेरी दिएकी थिइन्। त्यहाँ जाहेरी दर्ता नभएपछि हुलाकमार्फत सरकारी वकिलको कार्यालय काठमाडौंमा पठाइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई असोज ५ गते पत्राचार गरेको थियो।

उक्त पत्रमा महेश बस्नेत फ्यान क्लब कसको नाममा खोलिएको छ, त्यसमा थप अनुसन्धान गरी राय पेस गर्न भनिएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *