दमक, २७ भदौं–कानुनविपरीत अनलाइन सट्टेबाजी (बेटिङ गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय किरण कान्दङ्वा, सोही ठाउँका ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ रहेका छन् ।

बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा गैरकानुनी रूपमा अनलाइन सट्टेबाजी खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट अनलाइन सट्टेबाजीमा प्रयोग भएका आशङ्का गरिएका विभिन्न विद्युतीय उपकरणहरू कानुनबमोजिम बरामद गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू विगत लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेलहरू खेलाउने कार्यमा संलग्न रहँदै आएको खुलेको छ ।

पक्राउ परेका तीनै जनालाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *