काठमाडौं, २३ असोज–आइसिसी ट्वान्टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ।

अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले प्रस्तुत गरेको १४२ रनको प्रतिस्पर्धात्मक लक्ष्य कुवेतले भेट्टाउन सकेन। जवाफी ब्याटिङमा उत्रिएको कुवेतले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८३ रन बनाउन सक्यो।

कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले २३ बलमा दुई छक्कासहित सर्वाधिक २६ रन बनाए। त्यस्तै पाँचौं नम्बरका ब्याटर यासिन पटेलले १९ र तेस्रो नम्बरमा आएका मीत भाब्सारले ११ रन जोडे। यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। त्यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो।

स्कोरबोर्डमा एक रन जोड्न नपाउँदै कुवेतले पहिलो विकेट गुमाएको थियो। पहिलो ओभरको चौथो बलमा सोमपालले ओपनर रभिजा सान्दारुवानलाई बोल्ड गर्दै पेभिलियनको बाटो देखाए।

चौथो ओभरको पाँचौं बलमा नेपालले दोस्रो सफलता हासिल गर्यो। ललितको बलमा मीत भावसार सन्दीप जोराबाट क्याच भए। एक रन पनि जोड्न नपाउँदै कुवेतले अर्को विकेट गुमायो। विकेटकिपर उस्मान घानी अहमद अदाम बाकु पटेल डकआउट भए। त्यसपछि आएका यासिन पटेलले पारीलाई उकास्ने प्रयास गरे। तर, एन्टो र उनले ३५ रनभन्दा बढी साझेदारी गर्न सकेनन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। नेपालका लागि भुर्तेलले ५६ बलमा समान तीन चौका र छक्कासहित ६६ रनको पारी खेले। त्यस्तै अलराउन्डर दीपेन्द्रसिंह ऐरिले १९ बलमा एक छक्कासहित २० रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुई विकेट लिए। एक विकेट मोहम्मद आकिफ फरुकको नाममा रह्यो।

जितसँगै नेपालले ‘सुपर सिक्स’मा पुग्न एक कदम अगाडि बढेको छ। नेपालले समूहको दोस्रो खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। राउन्ड रोविनको आधारमा समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्ने छन्। सुपर सिक्स पनि राउन्ड रोविनकै आधारमा खेलाइनेछ।

जसमा शीर्ष तीनभित्र अटाउने टोलीले अर्को वर्ष भारत र श्रीलंकाको संयुक्त अयोजनामा हुने विश्वकपको १०औं संस्करणमा स्थान बनाउनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *