झापा, २६ असोज–अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब दुई हजार पाँच सय बालबालिका प्रभावित भएका छन् ।

बाढीले जिल्लाका विभिन्न स्थानका दुई हजार पाँच सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । “प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनिसकिएको छ ।”

अविरल वर्षापछिको बाढीले जिल्लामा करिब ४ हजार ५ सय घरधुरी प्रभावित भएकोमा झण्डै ३ हजार ४ सय घरधुरी झापा गाउँपालिकाको रहेको उहाँले बताउनुभयो । गत २३ गतेयता झापा गाउँपालिका वडा नं। १ र २ का करिब एक हजार सात सय बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उहाँले बताउनुभयो ।

बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधार लगायत क्षेत्रमा भएको क्षतिको विवरण संकलनको काम भइरहेको छ । विपद् जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय झापाको टोलीले प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजिअ प्रसाईंले बताउनुभयो ।

पानीजन्य रोग नियन्त्रणका लागि पानी निर्मलीकरण गर्ने, शुद्ध खानेपानीको ट्यांकी राख्ने काम भइरहेको जनाइएको छ । राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक संघसंस्था, व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन् ।

करिब चार हजार परिवारलाई वितरण गर्न सकिने गरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजिअ प्रसाईंले बताउनुहुँदै उहाँले भन्नुभयो, “अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव छैन ।”

जिल्ला विपद व्यवस्थापन समिति झापाले एकका लागि एक अभियानसँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत् जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले दुई हजार परिवारलाई राहत दिन पुग्ने गरी करिब रू ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताउनुभयो ।

बाढीपीडितहरुलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल एक बोरा, तेल एक लिटर, नून दुई केजी, आलु पाँच केजी, दाल दुई केजी, पानी एक कार्टुन, म्याट दुई थान र कम्बल दुई थान वितरण गरिँदै आएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *