काठमाडौं, २९ असोज–दलहरुले सभामखमार्फत् संसद पुनःस्थापनाको कसरत सुरु गरेका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन गरेर फागुन २१ गते निर्वाचन घोषणा भएका बेला दलहरुले पुरानै संसद ब्यूँताउन छलफल थालेका हुन्।

हिजो मात्र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र संसद विघटनविरुद्ध १० वटा रिट परेका छन्। तर, अध्ययनकै क्रममा रहेकाले कुनैपनि रिट दर्ता भने भइसकेको छैन। माओवादी र रास्वपासहित तत्कालीन प्रतिपक्षी दलहरु निर्वाचनको पक्षमै रहे पनि कांग्रेस निर्वाचन र संसद पुनःस्थापना दुुबै स्वीकार्ने बताइरहेको छ।

एमालेले भने सडकबाट समेत प्रतिवाद गर्ने बताइसकेको छ। यही बेलामा सभामुखको सक्रियता बढेको हो। सभामुख घिमिरेले आज विघठित प्रतिनिधिसभामा राजनीतिक दलहरुसँग छलफल गरिरहेका छन्।

बैठक केहीबेरअघि सिंहदरबारमा सुरु भएको छ। छलफलमा कांग्रेस, एमाले माओवादी राप्रपा लगायतका प्रतिनिधि सहभागी हुँदा रास्वपा भने छलफलमा गएन। रास्वपाका नेता सन्तोष परियारले आफ्नो दल उपस्थित नभएको बताए। उनले पार्टीको सचिवालय बैठक भएकोले सहभागी नभएको स्पष्ट पारे। तर रास्वपा भने संसद विघटनको पक्षमै रहेकोले बैठकमा सहभागी नभएको बुझिएको छ।

बैठकमा संसद विघटन भएको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको सहभागी नेताहरुले बताएका छन्।

दलहरूसँगको छलफललगत्तै सभामुख घिमिरेले पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने तयारी गरेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *