जनकपुरधाम, ७ कार्तिक–मधेश प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ।
प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको हो।
मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचनामा मधेस प्रदेश सरकारद्वारा विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने भनी उल्लेख भएको जानकारी दिए। उनले तदनुसार कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताए।
चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो पर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको भन्दै मधेशी समुदायले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको थियो।
संघीय सरकारले भने छठपर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार सार्वजनिक बिदा दिइसकेको छ।
