काठमाण्डौं, ७ माघ–निर्वाचन आयोगमा नेकपाका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित विभिन्न राजनीतिक पार्टीका पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ।

निर्वाचन आयोग स्रोतका अनुसार पूर्वप्रधानमन्त्री नेपालसहित पाँच जना उम्मेदवारीविरुद्ध उजुरी परेको हो । पूर्व प्रधानमन्त्री नेपालले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारीअनुसार ५ वटा उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो।

भक्तपुर २ मा २ जना उम्मेदवारविरूद्ध, सुनसरी २ मा १ जनाविरूद्ध, रौतहट १ मा १ जनाविरूद्ध र कैलाली १ मा १ जनाविरूद्ध उजुरी परेको छ।

भक्तपुरमा उम्मेदवारहरू राजिव खत्री र जानुका पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधव नेपाल, कैलालीमा रेशम चौधरीविरूद्ध उजुरी परेको छ।

सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो।

उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ।

निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन्।

यसरी प्रकाशन गरिने सूचनामा जसकाविरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ।

यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ। आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उनले बताए।

माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ।

आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *