दमक, ७ माघ–राष्ट्रिय राजनीतिको ध्यान खिचेको झापा जिल्लाका पाँच ओटा निर्वाचन क्षेत्रमा कूल ९० जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । यही फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यहाँका निर्वाचन क्षेत्रहरुमा हेभिवेट उम्मेदवारहरु समेत चुनावी मैदानमा छन् ।
यसअघिका चुनावहरुमा चर्चाको पात्र बन्दै आएका हेभिवेट केही उम्मेदवारहरु यसपटक चुनावी मैदानमा छैनन् तर नयाँ अनुहारहरुलाई पनि शक्तिशाली उम्मेदवारका रुपमा हेरिँदै आएको छ ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार संख्यात्मक रुपमा सबैभन्दा धेरै जना उम्मेदवार भएको क्षेत्र झापाको ५ नम्बर क्षेत्र हो ।
क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित २४ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।
एमालेका ओलीसँगै यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट मन्धरा चिमरिया पौडेल, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट रञ्जीत तामाङ, रास्वपाका तर्फबाट बालेन्द्र साह, नेकपा माओवादीका तर्फबाट सञ्जय राई लगायतले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं ५ पछि क्षेत्र नं २ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट महिला नेतृ एवं पूर्व मन्त्री सरिता प्रसाइँ, एमालेका तर्फबाट पूर्व सभामुख देवराज घिमिरे, नेकपाका तर्फबाट पूर्व मन्त्री एवं नेतृ धर्मशीला चापागाइँ , रास्वपाका तर्फबाट पूर्व उपसभामुख इन्दिरा राना लगायतले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नं ३ मा हेभिवेट उम्मेदवारका रुपमा हेरिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका राजेन्द्र घिमिरे, नेकपा एमालेका हरी राजवंशी, रास्वपाका प्रकाश पाठक लगायत १७ जनाले मनोनयन दर्ता गराएका छन् ।
सबैभन्दा कम उम्मेदवार भएको क्षेत्र झापाको १ नम्बर क्षेत्र हो । जहाँ १५ जना उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैले नयाँ अनुहारलाई उम्मेदवारको अवसर दिएका छन् ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको यो निर्वाचन क्षेत्रमा कांग्रेसले उद्योग व्यवसाय क्षेत्रमा केन्द्रिय नेतृत्व सम्म पुगेका केशव पाण्डेलाई उम्मेदवार बनाएको छ भने एमालेले रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपाका तर्फबाट अशेष घिमिरे उम्मेदवार बनेका छन् ।
यस्तै, क्षेत्र नं ४ मा यसपटक कांग्रेस, एमाले र रास्वपालेसमेत पुरानै अनुहारलाई उम्मेदवार बनाएका छन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट पार्टी जिल्ला सभापति समेत रहेका देउकुमार थेवे, नेकपा एमालेका तर्फबाट पूर्व सांसद तथा नेता एलपी साँवा, रास्वापाका शम्भु सुस्केरा ढकाल पुरानै अनुहार हुन् । २०७९ मा पनि यिनै तीन उम्मेदवारबीच त्यहाँँ प्रतिस्पर्धा हुँदा साँवाले भारी मतान्तरले चुनाव जितेका थिए ।
