दमक, ७ माघ–एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ दमकमा युवा नेताहरूले सामुहिक पार्टी छाडेका छन्।

एमाले सम्बद्ध युवा संघका अध्यक्ष, सचिव र उपाध्यक्षले सामुहिक पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन जनाएका छन्।

ओलीको गृहनगर दमकमा युवा नेताहरूको पार्टी त्यागले एमालेको विरासतमा ठुलो धक्का लागेको छ।

एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरेले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा उभिने निर्णय गरे लगत्तै उपाध्यक्ष बिजय तामाङले पनि सोही बाटो रोजेका हुन् ।

युवा सङ्घ दमक नगर कमिटीका प्रभावशाली तीनै जना पदाधिकारीले एकैपटक पार्टी छाडेपछि दमकमा एमालेको ‘लाल किल्ला’ भनिने विरासतमा पहिरो गएको छ।

यसअघि नगर अध्यक्ष छवि खतिवडाले एमालेको सङ्गठित सदस्यसमेत नरहने गरी राजीनामा दिँदै झापा क्षेत्र नं। ५ मा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका थिए । उनले समयको माग र परिवर्तनलाई आत्मसात् गर्न आफू बालेनको चुनावी अभियानमा होमिएको बताएका थिए ।

लगत्तै सचिव कमलप्रसाद गैरेले पनि सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । अब उपाध्यक्ष विजय तामाङ पनि सोही समूहमा मिसिएपछि दमकमा एमाले निकट युवाहरूको ठुलो पङ्क्ति स्वतन्त्र अभियानतिर आकर्षित भएको देखिएको छ।

अध्यक्ष ओलीको आफ्नै गृहनगर र निर्वाचन क्षेत्रमा युवा सङ्घको नेतृत्व तह नै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारको चुनावी अभियानमा लाग्नुलाई स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टीभित्रको परम्परागत कार्यशैलीप्रति असन्तुष्ट युवा नेताहरूले ‘परिवर्तनका लागि स्वतन्त्र राजनीति’ भन्दै बालेन शाहलाई साथ दिने निर्णय गरेपछि दमक एमालेभित्र ठुलो हलचल पैदा भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *