काठमाडौँ, १९ माघ–प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् ।
सोमबार काठमाडौँमा आयोजित नेपाल प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख गरिन् ।
उनले कुनै पनि राजनीतिक प्रभाव, दबाब वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन्।
नेपाल प्रहरीको विगतदेखि वर्तमानसम्मका गतिविधिले प्रहरी र समुदायबीचको सम्बन्ध मजबुत रहेको प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायको निष्पक्षताले नै लोकतन्त्रलाई सुरक्षित गर्ने बताइन्।
उनले परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध तथा सामाजिक द्वन्द्वका नयाँ आयामहरू देखा परिरहेको सन्दर्भमा प्रहरी निरीक्षकको भूमिका आदेश पालनामा मात्र सीमित नरही समाधानकर्ताको रूपमा विकसित हुनुपर्नेमा जोड दिइन् ।

