प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की

काठमाडौँ, १९ माघ–प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले अनेकौँ उतारचढावका बीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आइजिपी कार्कीले सात दशक लामो इतिहास बोकेको नेपाल प्रहरीले विभिन्न उतारचढाव, जलन र दलनका बाबजुद हिम्मतका साथ अझ सबल बन्दै नागरिक सेवामा अनवरत समर्पित रहेको उल्लेख गरे ।

उनले विभिन्न घटनाक्रमपछि पनि संगठनले आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गर्दै पुनः नागरिक सेवामा फर्किएको बताए ।

‘नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको छ,’ आइजिपी कार्कीले भने।

समय, युग र परिवेशअनुसार प्रहरीलाई राज्यको फर्स्ट रेस्पोन्डर तथा कानुन कार्यान्वयन गर्ने निकायका रूपमा थप प्रभावकारी बनाउन कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण तथा साधन(स्रोतमा युग सुहाउँदो सरकारी लगानी आवश्यक रहेको उनले बताए ।

प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व क्रमशः बढ्दै गएको उल्लेख गर्दै आइजिपी कार्कीले अझ लगनशील भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन पनि दिए । दीक्षित प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने जानकारी उनले गराए।

समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरी जम्मा ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *