पूर्वमुख्यमन्त्री राजकुमार शर्मा

काठमाडौँ, २९ माघ–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

माघ २६ गते बसेको केन्द्रीय समिति बैठकले शर्मालाई पार्टी सदस्यताबाट हटाउने निर्णय गरेको हो । निर्णयअनुसार उनलाई केन्द्रीय समिति लगायत सबै जिम्मेवारीबाट मुक्त गरिएको छ ।

यस्तै, नेकपाको कर्णाली प्रदेश संसदीय दलले पनि शर्मालाई प्रदेशसभा सदस्यबाट हटाउने प्रक्रिया अघि बढाएको छ । संसदीय दलका प्रमुख सचेतक कृष्ण जिसीले शर्मालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको जानकारी दिँदै प्रदेशसभा सचिवालयलाई पत्र पठाइएको बताएका छन् ।

उनका अनुसार, सचिवालयलाई पठाइएको पत्रमा शर्मा पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरण विपरीत गतिविधिमा संलग्न भएको उल्लेख छ । सोही आधारमा उनलाई पार्टी सदस्यताबाट हटाइएको जनाइएको छ ।

पत्रमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (२) र (५) बमोजिम पार्टी सदस्यबाट निष्कासन भए प्रदेशसभा सदस्य पद पनि स्वतः नरहने व्यवस्था रहेको उल्लेख गर्दै आवश्यक कारबाही गर्न सचिवालयलाई अनुरोध गरिएको छ।

शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए। केही महिनाअघि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *