क्याम्पा बजार (कमल), २९ साउन–झापाको क्यामस्थित कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा शुभारम्भ गरिएको छ। कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईज्यूले रिबन काटेर भिडियो एक्स-रे सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो।
स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स-रे सेवा सञ्चालनमा ल्याइएको हो।
सेवा सञ्चालनमा आएसँगै विशेषगरी गर्भवती महिला तथा भिडियो एक्स–रे आवश्यक पर्ने सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।
सेवा शुभारम्भ कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.फुलक चन्द्र लावती, अस्पताल प्रमुख कुशल श्रेष्ठ, रेडियोलोजिस्ट डा.देव कृष्ण यादवलगायत पालिका, अस्पताल तथा स्वास्थ्य शाखाका कर्मचारीहरू, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरू , पत्रकार र विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष राईले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप कमल नगर अस्पतालको सेवा तथा सुविधा क्रमशः विस्तार गर्दै लगिएको बताउनुभयो। उहाँले अस्पतालमा आवश्यक तथा विशेषज्ञ सेवाहरू थप गर्दै नागरिकलाई सहज, सरल, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
