दमक, २९ साउन–झापा, इलाम र मोरङमा १२ वटा सेवा केन्द्रहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिहीबारदेखि आफ्नो ३२औँ वार्षिक साधारणसभा तथा ३०औँ वार्षिकोत्सव पत्रकार सम्मेलन गरी सुरुवात गरेको छ ।

भदौ १२ गते संस्थाको स्थापना दिवसमा समापन गर्ने गरी विविध कार्यक्रमका साथ वार्षिकोत्सव तथा साधारण सभा गर्ने विगत लामो समयदेखिको प्रचलनलाई निरन्तरता दिँदै बिहीबार वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाको सञ्चार तथा प्रकाशन उपसमितिका संयोजक नरपति पाण्डेको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले मेची बहुउद्देश्यीय सहकारीले अंगालिरहेका नीतिगत व्यवस्थाहरु, कार्यक्रमहरु, सदस्यले पाउने सुविधाहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।

यस्तै संस्थाका व्यवस्थापक चन्द्रप्रसाद थापाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तको वित्तीय विवरणहरु जानकारी गराउनु भयो । प्रस्तुत विवरण अनुसार मेची सहकारी १९ हजार ७२३ जना सेयर सदस्य बनेर वित्तीय कारोबार गरिरहेका छन् । जसअनुसार शेयर पूँजी ४० करोड ८३ लाख ६९ हजार ४०० पुर्याइएको छ भने निक्षेप बचत ४ अर्ब १५ करोड १८ हजार ४७५ पुगेको छ ।

संस्थाको मेरुदण्ड मानिने जगेडा कोषहरुमा मेची सहकारीले ३१ करोड ७५ लाख ८ हजार ३७१ बनाइएको छ । यसरी संकलन गरिएको रकमलाई सदस्यहरु माझ ३ अर्ब ६८ करोड ८४ लाख १५ हजार ६२ रुपैयाँ ऋण लगानी गरेर समीक्षा वर्षमा मेचीले ३ करोड ८१ लाख ७९ हजार ९१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको वासलात ४ अर्ब ९१ करोड २२ लाख २० हजार ५५२ रहेको प्रतिवेदनमा उल्लेख छ ।

पत्रकार सम्मेलनमार्फत् संस्थाले आफ्नो आर्थिक अवस्था, वार्षिक कारोबार तथा प्रगति विवरण एवम् आगामी योजनाबारे सञ्चारकर्मीमार्फत आम सदस्य र समुदायलाई जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीहरूले सहकारीको वर्तमान अवस्था, सदस्यका लागि सञ्चालन गरिएका कार्यक्रम तथा आगामी कार्यदिशाबारे जानकारी दिनुभएको थियो ।

संस्थाले सहकारी सञ्चालनका यावत मापदण्डहरु, नीति, विधि र ऐनको पालना परिपालना गरेर समुदायको एउटा उम्दा वित्तीय संस्था बनाउने अठोट गरेको तथा सदस्यहरुको लागि पूर्ण वित्तीय मेरुदण्ड बनाउने लक्ष्य लिएको अध्यक्ष भट्टराईको दावी थियो ।

मेची सहकारीले ३०औँ वार्षिक उत्सवलाई संस्थाको वार्षिक प्रगति समीक्षा तथा आगामी योजना सार्वजनिक गर्ने अवसरका रूपमा लिएको जनाएको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा संस्थाको आर्थिक कारोबार, सम्पत्ति, दायित्व लगायत विभिन्न वित्तीय विवरण समेटिएको छ ।

संस्थाका सचिव राजेन्द्र दाहालले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलनमा आमन्त्रित पत्रकार तथा सहभागीहरुलाई वरिष्ठ उपाध्यक्ष पदम थापाले शाब्दिक स्वागत गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *