विराटनगर, २९ साउन–कोशी प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् ।

कोशीमा ९ वटा मन्त्रालय छन् । दुई दलले ५ र ४ मन्त्रालय लिने सहमति गरेका हुन् । नेकपाले ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्रीमा दाबी गरेको थियो । तर, एमालेले भने ३ वटा मन्त्रालय र एउटा राज्यमन्त्री दिने अडान लिँदा केही दिनदेखि यो विषयमा बहस भइरहेको थियो ।

मन्त्रालयको संख्या टुङ्गो लागेपनि कुनकुन मन्त्रालय लिने भन्ने टुङ्गिन बाँकी रहेको जनाइएको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि सबै विषय टुङ्गो लाग्ने बताए ।

नेकपाले नेपाली कांग्रेस सरकारबाट बाहिरिँदा छाडेको मन्त्रालय बाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय माग गरिरहेको छ । कांग्रेसले भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय पाएको थियो । नेकपाले आर्थिक मामिलासहित चार वटा मन्त्रालय खोजिरहेको हो ।

आइतबारसम्म भागवण्डा टुङ्गो लगाएर सोमबार नयाँ मन्त्रीको शपथ गराउने तयारी दुई दलको छ । नेकपा दलका नेता आङ्बोले सोमबारसम्म सरकार विस्तार गर्ने तयारी भएको बताए । मन्त्रीको नामावली टुङ्गो लगाउन नेकपाले शनिबार दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

प्रदेशमा चार वटा मन्त्रालय पाउने भएपछि नेकपाले पनि आन्तरिक भागबन्डा गरेको छ । नेकपाभित्र रहेको माओवादी केन्द्र पक्षले ३ र नेकपा एकीकृत समाजवादीले १ वटा मन्त्रालय लिने सहमति गरेका हुन् ।

कोशी प्रदेशसभामा हाल नेपाली कम्युनिस्ट पार्टीका कुल १७ जना सांसद छन्, जसमा पूर्व माओवादी केन्द्रका १३ र पूर्व एकीकृत समाजवादीका ४ जना रहेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *