झापा, ३० साउन–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका छन्।
आज (शनिबार) झापाको चन्द्रगढी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका छन्। विमानस्थलमा सञ्चारकर्मीसँग कुनै कुराकानी गरेनन्।
उनी राजनीतिक तथा सांगठनिक कार्यक्रममा सहभागी हुन झापा आएका हुन्। यस पटक झापामा धेरै औपचारिक कार्यक्रम नरहे पनि इलाममा भने अध्यक्ष ओलीको विशेष भेटघाट तथा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
विमानस्थलको स्वागत पश्चात् ओली सिधै इलामको फिकलतर्फ लागेका छन्। उनले शनिबार फिकलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।
अध्यक्ष खतिवडाका अनुसार, महासंघको बैठकलाई सम्बोधन गरेपछि ओली साँझ इलाम बजार पुगेर जिल्लाका अगुवा कार्यकर्ताहरूसँग भेटघाट तथा छलफलमा व्यस्त रहनेछन्।
इलामको भेटघाट तथा कार्यक्रम सम्पन्न गरी अध्यक्ष ओली आइतवार बिहानै झापा फर्किने तालिका छ । झापाको बिर्तामोडस्थित आइतबार सुरु हुने एमाले झापा जिल्ला कमिटीको ‘पार्टी जागरण अभियान’को अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधनपछि ओली आइतबार अपराह्न ४ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
