काठमाडौँ, ४ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवर्धनका गतिविधिमा प्रयोग भएको दाबी गरेकी छिन्।
बिहीबार बसेको सार्वजानिक लेखा समितिको बैठकमा उनले विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भएको आफूहरूले देखेको दाबी गरिन्। उनले धर्मान्तरण तथा नास्तिकता प्रवर्धनमा प्रयोग हुने वैदेशिक सहायता रोक्नुपर्ने बताइन्।
‘नेपालमा आउने आईएनजीओ र विदेशी गैरसरकारी संस्थाहरूका बजेट विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामा जाने गरेका छन् । म यहाँ कुनै एउटा धर्मको मात्र कुरा गरिरहेको छैन। विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामा त्यस्ता बजेट आउने र धर्मान्तरण तथा नास्तिकता फैलाउनेजस्ता गतिविधि हुने गरेको हामीले देखिरहेका छौँ’, उनले भनिन्, ‘अहिले पनि समाजमा हेर्ने हो भने विभिन्न धार्मिक संघसंस्थाहरूले सार्वजनिक रूपमै धर्मान्तरण गराउन गाउँ–गाउँमा आफ्ना गतिविधि सञ्चालन गरेको देखिन्छ। पछिल्लो समय विदेशी नागरिकहरू नै गाउँ–गाउँमा परिचालित भएको पनि हामीले देखिरहेका छौँ।’
ओलीले सबै वैदेशिक सहायता अनिवार्य रूपमा सरकारी खातामा ल्याउनुपर्ने पक्षमा आफू नरहेको स्पष्ट गर्दै विकासका नाममा आउने सबै स्रोतलाई भने राष्ट्रिय प्राथमिकता, सार्वजनिक सूचना, परिणाम मापन र उपयुक्त लेखापरीक्षणको दायरामा ल्याउनुपर्ने बताइन्।
नेपालमा सञ्चालन हुने सबै विकास सहायता परियोजनाको अनिवार्य अभिलेख राख्ने, सहायता सम्झौता, कुल रकम, वार्षिक खर्च, प्रशासनिक तथा परामर्श खर्च, खरिद प्रक्रिया, लाभान्वित समूह र परियोजनाको परिणाम सरकारको सूचना प्रणालीमा सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ।
थाहाखबरबाट

