काठमाडौं, ९ भदौं–नबिल बैंकका नायब महाप्रबन्धक (डीजीएम) गणेश प्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन्। सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव हासिल गरेका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरे। अवस्थीले ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय उच्च व्यवस्थापन तहमा रहेर जिम्मेवारी सम्हालेका थिए।
करिब चार वर्षअघि उनी सहायक महाप्रबन्धक ९एजीएम० का रूपमा नबिल बैंकमा प्रवेश गरेका अवस्थी नबिल बैंकमा कार्यरत रहँदा उनले क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन तथा ग्राहक सेवाका क्षेत्रमा जिम्मेवारी सम्हाल्दै आएका छन्। बैंकिङ क्षेत्रका विभिन्न पक्षमा लामो अनुभव रहेका अवस्थीलाई सोही अनुभवका आधारमा डीसीईओको जिम्मेवारी दिइएको हो।
अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। साथै, उनले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ विषयमा अध्ययन पूरा गरेका छन्।

