दुधे, १५ भदौं–सानो पुँजीलाई एकीकृत गरी ठूला विकास तथा उत्पादनमूलक आयोजनामा लगानी बढाउने उद्देश्यले झापामा स्थापित पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारणसभा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने निर्णय गर्दै शनिबार बिर्तामोडमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष लालबहादुर साँवा लिम्बूको अध्यक्षतामा भएको साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्दै सर्वसाधारणका लागिआईपीओ जारी गर्ने, आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली संसोधन र सञ्चालकहरूको बैठक भत्ता सम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको हो।

वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लिम्बुद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरिनुका साथै आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, एकीकृत वित्तीय विवरण, सञ्चालक समितिका निर्णयहरू र एकजना सञ्चालकको नियुक्ति अनुमोदन गरिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्तावसमेत सर्वसम्मत पारित भएको छ ।

साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीले समीक्षा आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न पाँचवटा ठूला आयोजनामा कुल १७ करोड रुपैयाँ लगानी गरेको छ। जसअनुसार गोरक्ष हाइड्रोपावरमा ५ करोड ३० लाख रुपैयाँ, कावेली इनर्जीमा ५ करोड रुपैयाँ, लुका भिलेजमा ४ करोड रुपैयाँ, लालुपाते हाइड्रोपावरमा २ करोड २० लाख रुपैयाँ र किसान नेट प्रालिमा ५० लाख रुपैयाँ लगानी गरिएको देखिन्छ ।

प्रतिवेदन अनुसार २०८३ असार मसान्तसम्म कम्पनीको बैंक खातामा १० करोड ९५ लाख ७३ हजार १२० रुपैयाँ मौज्दात रहेको छ भने समीक्षा अवधिमा कम्पनीले कुल २४ लाख रुपैयाँ आम्दानी गरी सम्पूर्ण खर्च कटाएर १८ लाख ३७ हजार रुपैयाँ खुद बचत गर्न सफल भएको जनाइएको छ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख एवं कम्पनीका लगानी समन्वयकर्ता पवित्रा महतरा प्रसाईको स्वागत मन्तव्य रहेको साधारण सभामा वित्तीय सल्लाहकार सिए सरोज श्रेष्ठले कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराएका थिए भने इन्भेष्टमेन्ट को–अर्डिनेटर रामचन्द्र उप्रेतीले सेयर लगानीकर्ताको रकम यो टिमबाट नडुब्ने विश्वास व्यक्त गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *