काठमाडौं, १४ भदौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले वर्तमान समय राष्ट्रिय शोक र पीडाको विषय भएको धारणा ब्यक्त गरे ।
यो संकटलाई साझा दायित्वका रूपमा ग्रहण गरी समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए । विपद् व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढी हुने बताउँदै उनले राज्यकोषको परिचालन नागरिकको उद्धार, राहत र पुनःनिर्माणमा केन्द्रित गर्नुपर्ने बताए ।
‘यो विपत्ति वास्तवमै राष्ट्रिय शोक र पीडाको समय हो । यस्तो बेला जनता मारमा परिरहेका छन्, त्यसैले यसमाथि कसैले पनि राजनीति गर्नु हुँदैन । यो हाम्रो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा नै हो । सबैले उदारता, दृढता र संयमका साथ सहयोगको हात बढाउनु आवश्यक छ’ ओलीले भनेका छन् ।
खासगरी राजधानी नजिकैको प्रदेशमा घटेको यो घटनाको गहिराइ बुझ्न सहज भएको भन्दै उनले तीनै तहका सरकार बीच प्रभावकारी समन्वय हुनुपर्ने धारणा राखे ।
ओलीले राजनीतिक दल, सङ्घ संस्था, समाजसेवी र परोपकारी निकायहरूलाई समेत एकीकृत रूपमा विपद्को सामना गर्न आग्रह गरे ।

