गौरादह, १५ भदौं–झापाको गौरादहमा प्रथम अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ। १९ भदौंदेखि २८ गतेसम्म हुने प्रतियोगिताका बारेमा आज गौरादहमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
गौरादहस्थित स्पर्श सामाजिक क्लबको आयोजनामा ‘प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ सञ्चालन हुन लागेको हो।
आज (सोमबार) गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा पत्रकार सम्मेलन गरेर आयोजकले टाइसिटसहित शिल्ड सार्वजनिक गरेको छ । भदौं १९ गतेदेखि २८ गतेसम्म प्रथम गौरादह महिला फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको उद्देश्य महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै युवालाई लागूऔषधविरुद्ध सचेत गराउनु रहेको आयोजक क्लबका अध्यक्ष उज्वल दाहालको भनाइ छ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता तथा प्लेयर अफ द टुर्नामेन्टलगायतका विधामा खेलाडी पुरस्कृत हुने खेल सम्योजक युवराज खडकाले बताए ।
महिला फुटबलको विकास र स्थानीय खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई गौरादहमा महिला खेलकुदको विकासका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
