दमक, २२ भदौं–रसुवास्थित भोटेकोशी र त्रिशुली नदीमा आएको बिनासकारी बाढी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि भारतीय गोर्खा भूतपूर्व सैनिक संगठन दमकले १ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

भारतीय गोर्खा भूतपूर्व सैनिक संगठनले सोमबार दमकमा आयोजना गरेको शोकसभामार्फत बाढी पहिरो पीडितका लागि संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएको हो।

अनरेरी क्याप्टेन असारसिंह खजुम लिम्बुको प्रमुख आतिथ्यतामा संगठनको दमकस्थित भवन परिसरमा शोकसभा आयोजना गरिएको थियो।

कार्यक्रममा संगठनका अध्यक्ष प्रेमबहादुर बेघा लिम्बुले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पीडित परिवारको दुःखमा साथ दिन राहत रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो।

उहाँले विपद्को समयमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक रहेको बताउँदै पूर्व भारतीय गोर्खा सैनिक तथा उनीहरूका परिवारलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्दै राहत अभियानमा सहभागी हुन आग्रह गर्नुभयो।

गोर्खा भूतपूर्व सैनिक संगठनका सचिव श्रीप्रसाद राईका अनुसार दमक क्षेत्रका संगठनमा आबद्ध पूर्व भारतीय गोर्खा सैनिकका परिवारबाट संकलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

शोकसभामार्फत भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै सहयोग रकम संकलन गरिएको सचिव राईले बताउनुभयो। विपद्का बेला पीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको उहाँको भनाइ छ।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विभिन्न संघसंस्था, समूह तथा व्यक्तिहरूले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने क्रम जारी छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *