बिर्तामोड, २३ भदौं–झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) विरुद्ध खोप लगाइने भएको छ । मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि असोज ५ गतेदेखि खोप लगाइने भएको हो ।

असोज ५ देखि १९ गतेसम्म करिब पाँच लाख नागरिकलाई जेईविरुद्धको खोप लगाउने तयारी गरिएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमित १३ जनामध्ये चार महिला र दुई पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यसका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ ।

खोप अभियानअन्तर्गत झापाका १५ वटै पालिकाका ३० वर्षमाथिका ४ लाख ९३ हजार ३१९ जना नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

जिल्लामै सबैभन्दा बढी संक्रमित मेचीनगर नगरपालिकामा देखिएकोले त्यहीँबाट सुरू गरिने खोप अभियान १५ दिन अर्थात् असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।

एउटा स्थानीय तहमा बढीमा सात दिन खोप सेवा सञ्चालन हुने र यसले मानिसको स्वास्थ्यमा खासै असर नपार्ने स्वास्थ्य प्रमुख दासले बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *