काठमाडौं, २७ असोज–नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विवेकशील, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएकी छन्।
सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले शिक्षालाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिइन्।
उनले मुलुकको विकासको जिम्मेवारी सरकार, राजनीतिक दल र नीतिनिर्मातामा मात्र सीमित नहुने बताइन्।
हरेक नागरिक र समुदायको पनि विकासमा उत्तिकै भूमिका हुने उल्लेख गर्दै उनले श्रम, सिर्जनशीलता, उद्यमशीलता, अनुशासन र इमानदारीलाई विकासका महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरिन्।
भण्डारीले नागरिक शिक्षाले लोकतन्त्रलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग गर्ने बताउँदै यस क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखिन्।
नागरिकले राज्यबाट अधिकार र सेवा अपेक्षा गर्नु स्वाभाविक भए पनि राज्य र समाजप्रतिको आफ्नो भूमिका तथा जिम्मेवारी बुझ्न आवश्यक रहेको उनको भनाइ थियो।
उनले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रम, शिक्षण विधि र मूल्याङ्कन प्रणालीलाई जीवनोपयोगी ज्ञान, आलोचनात्मक चिन्तन र नागरिक जिम्मेवारीसँग जोड्नुपर्ने बताइन्।
शिक्षा प्रणालीको सुधारसँगै पठन संस्कृतिको विकास पनि उत्तिकै आवश्यक रहेको उनले उल्लेख गरिन्।
नागरिकमा आलोचनात्मक चेतना, सामाजिक उत्तरदायित्व, सहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मान विकास गर्ने गरी शिक्षा प्रणाली अघि बढाउनुपर्नेमा भण्डारीले जोड दिइन्।

