झापा, २७ असोज–सशस्त्र प्रहरी बल नेपालले झापाका विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेका दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। बरामद गरिएका सामानमध्ये करिब ४०० केजी माछा नष्ट गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका अनुसार असोज २४ देखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खटिएका चेकजाँच तथा मोबाइल गस्ती टोलीले भन्सार छली ल्याइएका सामान बरामद गरेको हो।
असोज २५ गते साँझ बिर्तामोड नगरपालिका–८ स्थित देउनिया पुलमा सुरक्षा बेस गोलधापबाट सशस्त्र प्रहरी नायब निरीक्षक दीपेन नेपालीको कमान्डमा खटिएको टोलीले भारतीय नम्बर प्लेटको डब्लुबी ७४ एजी ७०२७ नम्बरको कारबाट तीन बोरा पूजासामग्री बरामद गरेको थियो। भद्रपुर भन्सार कार्यालयमा बुझाइएको पूजासामग्रीको मूल्य २ लाख ७४ हजार ३४० रुपैयाँ र कारको मूल्य १० लाख रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, असोज २४ गते अर्जुनधारा नगरपालिका–११ स्थित कालीझोडा क्षेत्रमा शनिश्चरे सुरक्षा बेसबाट सशस्त्र प्रहरी नायब निरीक्षक उमेश ठाकुरको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले डब्लुबी ७४ बीसी १५२७ नम्बरको भारतीय कारसहित अवैध सामान बरामद गरेको थियो।
कारबाट २० जोर फुटबल लेग प्याड र ९५ दर्जन लेडिज लेगिङ्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको मूल्य १ लाख ७४ हजार रुपैयाँ र कारको मूल्य १० लाख रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ।
असोज २६ गते कनकाई नगरपालिका–१ स्थित दुर्गापुर चोकबाट भारततर्फबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको करिब ४०० केजी विभिन्न जातका माछा, दुई रोल सेक्सन पाइप र मे १ ह ३५९२ नम्बरको अटो बरामद गरिएको थियो। सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।
बरामद माछाको मूल्य १ लाख २० हजार रुपैयाँ कायम गरिएको थियो। पशु क्वारेन्टाइन कार्यालय तथा नेपाल प्रहरीका प्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी गण परिसरमा खाल्डो खनेर माछा नष्ट गरिएको छ। अटो र सेक्सन पाइपको मूल्य ३ लाख १० हजार रुपैयाँ कायम गरी आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित बिष्टले सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणका लागि निगरानी, चेकजाँच र गस्तीलाई प्रभावकारी बनाइएको जानकारी दिए।
चाडपर्वका बेला हुन सक्ने अवैध ओसारपसार रोक्न तथा जिल्लाको शान्तिसुरक्षा कायम गर्न सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन गरिएको उनले बताए।
