विराटनगर, २७ असोज–कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ। संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा सहभागी हुन ६ प्रदेशका मुख्यमन्त्री विराटनगर आइसकेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री आउने टुंगो भने लागिसकेको छैन। सुदूरपश्चिमबाट प्रदेशका प्रमुख सचिव सम्मेलनमा सहभागी हुन आएका छन्।

सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सोमबार विराटनगर आइपुगेका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने आइपुगेका छैनन्। प्रदेश सरकारको बजेट विवादका कारण उनी सम्मेलनमा सहभागी हुन नआएका हुन्। बजेटसम्बन्धी विवाद समाधान भए उनी मंगलबार बेलुकासम्म आइपुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ।

सम्मेलनमा प्रदेशहरूबाट मुख्यमन्त्री, प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी हुँदैछ। सम्मेलनबाट संघीय सरकारसँग प्रदेशको अधिकार र वित्तीय स्रोतको बाँडफाँटसम्बन्धी विषयमा सामूहिक आवाज उठाउन साझा एजेन्डा तय गर्ने तयारी छ। कानुन निर्माणमा एकरूपता कायम गर्ने र प्रदेशहरूबीच असल अभ्यासको आदानप्रदान गर्ने विषयमा समेत छलफल हुनेछ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार दुई दिनसम्म चल्ने छलफलपछि प्रदेशहरूले ‘विराटनगर घोषणापत्र’ जारी गर्नेछन्। घोषणापत्रमा प्रदेश सरकारहरूको साझा माग, प्रतिबद्धता र संघीयतालाई थप बलियो बनाउने विषय समेटिनेछन्।

सम्मेलनपछि प्रदेशका अधिकारका विषयमा संघीय सरकारलाई सामूहिक रूपमा दबाब दिने रणनीति पनि तय गरिनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *