काठमाडौं, २ कार्तिक–आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ६९ रन जोडे। उनले तीन चौका र चार छक्का प्रहार गरे। रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उक्त विकेटका लागि नेपालको यो कीर्तिमानी साझेदारी हो।
नेपालका देव खनालले ५७ तथा इशान पाण्डेले २९ रन बनाए। ओमानका शाह फैसलले पाँच विकेट लिए भने जय ओडेड्राले तीन विकेट हात पारे। २८१ रनको लक्ष्य पछ्याएको ओमानका जतिन्दर सिंहले सर्वाधिक ८९ रन बनाए।
उनले सात चौका र एक छक्का प्रहार गरे। हम्माद मिर्जाले ८७ रन जोड्दा हसनैन शाह ४० रनमा अविजित रहे। तर, उनीहरूको प्रयासले ओमानलाई जित दिलाउन सकेन।
नेपालले लिग–२ को आफ्नो अन्तिम खेलमा महत्त्वपूर्ण जित निकालेको हो। यो जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै तालिकाको छैटौँ स्थानमा लिग टुंग्याएको छ। प्रतियोगितामा नेपालले १४ खेल जित्दा २० खेलमा हार बेहोरेको छ ।
