हर्कराज राई (हर्क साम्पाङ)

​​​​​​काठमाडौँ, ११ कार्तिक–श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरका बासिन्दासरह राज्यबाट उपलब्ध हुने सेवासुविधा पाउनुपर्ने बताएका छन्।

हुम्लाको अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राज्यबाट सेवा तथा सुविधाको असमान वितरण हुँदा शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सुविधा सहर केन्द्रित भएको बताए।

‘राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवा र सुविधा सहर केन्द्रित छ । यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ,’ उनले भने।

नागरिकलाई समयअनुसार आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके जुनसुकै ठाउँमा पनि सहज रूपमा बसोबास गर्न सकिने उनको भनाइ थियो।

सांसद साम्पाङले दुर्गम क्षेत्रका नागरिकले नदी तर्न तुइन प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

उनको हुम्ला भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण गर्ने विषयसँग जोडिएको बताइएको छ।

खडीखेतमा स्थानीय बासिन्दा जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साम्पाङले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त स्थानमा पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको छ।

यद्यपि, पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय अझै चासोको केन्द्रमा छ।

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा अन्य आधारभूत सेवाको अभावका कारण स्थानीय नागरिकले वर्षौँदेखि कठिनाइ भोग्दै आएका छन्।

यस्तो अवस्थामा पुल निर्माणको प्रतिबद्धता कार्यान्वयन र आधारभूत सेवाको पहुँच विस्तारलाई महत्त्वका साथ हेरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *