काठमाडौं, १४ कार्तिक–उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारगृहमै प्रहरी प्रवेश गराएर नियन्त्रणमा लिने कार्यको निन्दा गरेका छन् । उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै घिसिङले नेपालको संविधानले प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराएका छन् ।
यी अधिकार कुनै सरकारको इच्छा वा निगाहमा निर्भर नभई नागरिकका आधारभूत अधिकार भएको उनको भनाइ छ ।
झन्डै दुई तिहाइ जनमतको समर्थन प्राप्त निर्वाचित सरकारले संविधानको संरक्षण र लोकतान्त्रिक मूल्य–मान्यताको संवर्द्धन गर्नुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा प्रवेश गरी नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य आपत्तिजनक रहेको घिसिङले बताएका छन्।
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु र जनतालाई सुसूचित गर्नु पत्रकारिताको धर्म भएको उल्लेख गर्दै उनले आलोचनालाई शत्रु ठान्ने तथा असहमतिका आवाज दबाउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने बताएका छन् ।
लोकतन्त्रको वास्तविक शक्ति बहुमतमा मात्र नभई नागरिक स्वतन्त्रता, विधिको शासन र जवाफदेहितामा निहित हुने उनको भनाइ छ । बहुमतले शासन गर्ने अधिकार दिए पनि नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट नदिने उनले उल्लेख गरेका छन् ।
घिसिङले प्रेस स्वतन्त्रतामाथिका हस्तक्षेप, धरपकड र दमन तत्काल बन्द गर्न, पक्राउ परेका पत्रकारको कानुनी अवस्था सार्वजनिक गर्न तथा उनीहरूको संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि सुरक्षित वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले पत्रकारको कलम रोक्दैमा सत्य नरोकिने बताएका छन् ।

