राजेन्द्र लिङ्देन

काठमाडौँ, १८ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो सम्पत्ति छानबिन गर्न सरकारलाई पुनः चुनौती दिएका छन्।

बुधवार पार्टीको काठमाडौँ जिल्ला समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध निर्मम रूपमा उभिन तयार रहेको बताएका हुन्। अध्यक्ष लिङदेनले आफूले संसद्‌मा प्रतिनिधित्व गर्दादेखि नै सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराए।

उनले भ्रष्टाचारको आरोप प्रमाणित भएमा आफू सजाय भोग्न र राजनीतिबाटै संन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्न तयार रहेको दाबी गरे। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिनुलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाएको जानकारी दिए।

पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै लिङदेनले कार्यकर्ता र नेतृत्वलाई संयमित रहन आग्रह गरे।

लिङदेनले भने, ‘सबैभन्दा पहिले मेरो सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग छ। छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु। म सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट भ्रष्टाचारविरोधी छु। त्यसैले राप्रपा भ्रष्टाचारविरुद्ध दृढतापूर्वक अघि बढ्नुपर्छ।’

उनले आफ्नो अडान ‘सिद्धान्तमा मात्र नभई मन, वचन र कर्ममा आधारित रहेको’ जिकिर गरे। आगामी दिनमा राप्रपा भ्रष्टाचारविरुद्धको मुद्दालाई प्रमुखताका साथ अगाडि बढाउने उनको भनाइ छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *