काठमाडौँ, ८ मंसिर–नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच निर्वाचत केन्द्रीत सहकार्य र एकताको बहस फेरि शुरु भएको छ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दुई ठूला वामपन्थी दलबीच चुनावी तालमेलदेखि पार्टी एकतासम्मको चर्चा चुलिएको हो।

नेताहरूका पछिल्ला अभिव्यक्तिले एमाले र नेकपाबीच चुनावी सहकार्यको सम्भावना बलियो देखाए पनि पार्टी एकताको बाटो भने सहज देखिदैन। नेकपाका नेताहरूले चुनावी तालमेललाई एकताको आधार बनाउन सकिने बताइरहेका छन् भने एमाले नेतृत्वले तत्काल एकताको विषयमा कुनै स्पष्ट संकेत दिएको छैन। एमालेले सहकार्यका लागि ढोका खुला राखे पनि पार्टी एकताका लागि वैचारिक, सैद्धान्तिक र सांगठनिक आधार तयार हुनुपर्ने शर्त अघि सारेको छ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग स्थानीय र प्रदेशसभा निर्वाचनमा मिलेर जाने नीतिगत सहमति भइसकेको दाबी गरेका छन्। ७ मंसिरमा गोरखा पुगेका उनले एमालेसहित कम्युनिस्ट घटकसँग सदन र सडकमा सहकार्य गर्ने सहमति भएको बताएका हुन्।

‘सहकार्य गर्ने सहमति त भइसकेको छ। एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै संघर्ष गर्ने सहमति भइसकेको छ। स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ’, उनले भने।

प्रचण्डले सहकार्यलाई चुनावी तालमेलमा मात्र सीमित नराखी पार्टी एकतासम्म पुर्‍याउने आफ्नो चाहना रहेको पनि बताए। कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादको दिशामा अघि बढ्न कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्ने उनको भनाइ छ।

‘एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ। यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन। तैपनि देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ’, उनले भने।

प्रचण्डको यो अभिव्यक्तिले एमालेसँगको संवादलाई नेकपाले चुनावी रणनीतिभन्दा माथि उठाएर दीर्घकालीन राजनीतिक सहकार्य र एकताको सम्भावनासँग जोडेको देखिन्छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले पनि चुनावी तालमेल हुने सम्भावना बलियो रहेको बताएका छन्। ३ मंसिरमा सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेसँगको सहकार्यले पार्टी एकताको ढोका खोल्न सक्ने बताए।

‘हामी एमालेसँग वा सबै कम्युनिस्ट पार्टीहरू मिल्नुपर्छ भन्ने कुरामा प्रस्ट छौँ। प्रदेश सरकार निर्माणमा सहकार्य अगाडि बढाइसक्यौँ। अब चुनावी तालमेल पनि हुन सक्छ। सहकार्य गर्दै एकतासम्म पुर्‍याउने हो’, उनले भने।

ज्वालाका अनुसार चुनावी तालमेलका लागि नेकपा तयार छ। त्यसलाई एकतासम्म पुर्‍याउन एमाले पनि तयार हुनुपर्ने उनको भनाइ छ। ‘विगतको समीक्षा गर्दै अब नयाँ ढंगले एकताको क्षितिज खोल्नुपर्छ। अब चुनावी तालमेल हुने करिब निश्चित जस्तै छ, हामी त्यसका निम्ति तयार छौँ। चुनावी तालमेल अथवा चुनावी सहकार्यपछि पार्टी एकताको ढोका खुल्न सक्छ’, उनको भनाइ छ।

नेकपाका नेता वर्षमान पुनले त अझ एक कदम अघि बढेर एमालेभित्रै एकताका लागि बढी छटपटी देखिएको बताएका छन्। ३ मंसिरमा दैलेखमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेका नेताहरूले भेटघाटमा पार्टी मिलाउन र गठबन्धन गर्न आग्रह गर्ने गरेको बताए।

‘अझ हाम्रो पंक्तिमा भन्दा एमालेका साथीहरूमा अलि बढी त्यो छ। जहाँ गयो भने पनि पार्टी मिलाऊँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ, के गर्ने हो जहाँ गए पनि लौ कमरेड लाग्नुपर्‍यो भन्ने । त्यो लेभलको हतासा पनि हुन जरुरी छैन,’ उनले भने।

यद्यपि पुनले संविधान र वर्तमान राजनीतिक व्यवस्था रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूसँग सदन र सडक दुवै मोर्चामा सहकार्य गर्नुपर्ने धारणाा राखे।

यसरी हेर्दा नेकपाका शीर्ष नेताहरूले एमालेसँग चुनावी तालमेल र त्यसपछि एकताको सम्भावनालाई निरन्तर सार्वजनिक बहसमा ल्याइरहेका छन्।

एमालेको कोणबाट एकताको सम्भावना कमजोर

एमालेको संस्थागत निर्णय र अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक धारणाले तत्काल एकताको सम्भावना कमजोर देखाउँछ।

एमाले अध्यक्ष ओलीले यसअघि नै पार्टी एकताका लागि आफ्नो पार्टीको सिद्धान्त, नीति र कार्यक्रम स्वीकार गर्नुपर्ने स्पष्ट पारिसकेका छन्। गत वैशाख पहिलो साता भक्तपुरको गुण्डुमा एमाले नेता विशाल भट्टराईसँगको भेटमा उनले वैचारिक र सांगठनिक एकरूपताविनाको एकता सम्भव नहुने बताएका थिए।

‘आजको सन्दर्भमा एमालेको सिद्धान्त, नीति र कार्यक्रमलाई स्वीकार गर्ने शक्तिसँग मात्र एकता हुन सक्छ। विगतको जस्तो सैद्धान्तिक, वैचारिक र सांगठनिक एकरूपताविनाको एकता सम्भव हुँदैन’, उनको भनाइ थियो।

त्यसयता ओलीले नेकपासँग पार्टी एकताको विषयलाई प्राथमिकतामा राखेर सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। बरु संविधान, लोकतन्त्र र राष्ट्रिय हितको रक्षाका लागि विभिन्न राजनीतिक दलसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिँदै आएका छन्।

यही मंसिर २ र ३ गते सम्पन्न एमालेको राष्ट्रिय भेला तथा त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले पनि नेकपासँग एकताबारे कुनै ठोस निर्णय गरेन। बैठकले आगामी निर्वाचनको तयारीसँगै राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रक्रिया र संविधानको रक्षाका लागि आवश्यक परे आन्दोलनको तयारी गर्ने निर्णय गरेको थियो।

बैठकबाट पारित २१ बुँदे समसामयिक विशेष प्रस्तावको १५ नम्बर बुँदामा एमालेले अन्य राजनीतिक दलसँग सहकार्य गर्ने विषय उल्लेख गरेको छ। त्यसमा राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा तथा जनसरोकारका विषयमा संवाद, सहकार्य र जनदबाबका लागि सबै राजनीतिक दल र सचेत नागरिकलाई आह्वान गरिएको छ। तर त्यसमा नेकपासँगको चुनावी पार्टी एकताको कुनै स्पष्ट प्रतिबद्धता छैन।

एमाले सचिव खगराज अधिकारी पनि चुनावी सहकार्यको सम्भावना रहे पनि पार्टी एकताका लागि धेरै गृहकार्य आवश्यक रहेको बताउँछन्।

‘निर्वाचनमा सहकार्य हुन सक्छ तर एकताका लागि भने धेरै नै होमवर्क गर्नुपर्छ। किनभने पहिला कुरा बिग्रियो। त्यसकारण फेरि सहज छैन,’ उनले भने।

एमाले र तत्कालीन माओवादीबीच एकता भएर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विघटन भएको विगत स्मरण गर्दै अधिकारीले अहिले नै एकताको सम्भावना नरहेको बताए।

‘तत्कालै एकता सम्भव छैन। सहकार्यबाट सकारात्मक दिशामा गयो भने हुन पनि सक्छ तर सहज छैन। संवाद त अध्यक्ष लेभलमा केही भइरहेको छ तर एकतातिर जान गाह्रो छ,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *