काठमाडौं, २३ मंसिर–सर्वदलीय बैठकमा सहभागीहरुले सरकारले जनतालाई चित्त बुझाउन नसकेर र संविधानलाई ठिक ढंगले लागू गर्न नसेकाले पछिल्लो गतिविधि भएको धारणा राखेका छन् ।
बैठकमा सहभागी नेकपाका एक नेताका अनुसार बोल्ने अधिकांश सदसस्यहरुले पछिल्ला गतिविधि सरकारको अकर्मण्यताको उपज भएको आरोप लगाएका थिए ।
जनताको असन्तुष्टिका कारण आन्दोलन भएको ठहर अधिकांश नेताहरुको छ । बैठकमा ओलीले कोभिडको महामारीको बेला प्रतिगामीले जलुस निकालेको बताउँदै आफ्ना सुझाव राख्न आग्रह गरेका थिए ।
यसैबीच नेपाली कांग्रेसले अहिले सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताएको हो ।
बैठकपछि कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सरकार सच्चिएमा सडकमा व्यक्त असन्तुष्टिलाई आफ्नो कोणबाट व्याख्या गर्ने प्रवृत्ति सफल हुन नसक्ने बताए ।
“सरकार सच्चियो भने लोकतान्त्रिक पद्धतीअनुरुप सरकार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन,” उनले भने । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए ।
