नयाँदिल्ली, २३ मंसिर–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घरमै नजरबन्दमा परेका छन् । आम आद्मी पार्टीमा आवद्ध केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उक्त पार्टीले जनाएको छ ।
दिल्लीको सीमाना सिंघुमा केन्द्र सरकार विरोधी आन्दोलनमा सहभागी भएको भोलिपल्ट केजरीवाललाई नजरबन्दमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् । आम आद्मी पार्टीले केजरीवालको घरबाट बाहिर निस्कन र त्यहाँ पस्न कसैलाई नदिएको बताएको छ ।
उक्त पार्टीले भारतीय जनता पार्टीको प्रहरीले मुख्यमन्त्री केजरीवाललाई नजरबन्दमा राखेको बताएको छ ।
भारतका किसानहरुले यतिबेला प्रधानमन्दी मोदीविरद्ध आन्दोलन चर्काएका छन् । आज मंगलबार किसानहरुले भारत बन्द आह्वान गरेका छन् ।
केजरीवाल सोमबार किसान आन्दोलनमा सहभागी भएका थिए । आम आद्मी पार्टीले केजरीवाललाई नजरबन्दमा राखेको दाबी गरिरहँदा प्रहरीले भने केजरीवाल नजरबन्दमा नरहेको बताएको छ ।
दिल्ली प्रहरीले केजरीवाललाई नजरबन्दमा नराखिएको र उनी आफ्नो अधिकार प्रयोग गर्न खुला भएको प्रतिक्रिया जनाएको छ । एजेन्सी
