मोरङ (उर्लाबारी), २३ मंसिर–मोरङको मिक्लाजुङ गाउँपालिका-१ निवासी स्थानीय सरस्वती आधारभूत विद्यालका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ।

विप्लव नेतृत्वको नेकपाका मेची-कोसी व्यूरो इन्चार्ज प्रतापले मंगलबार एक विज्ञप्ति निकालेर आफूहरुविरुद्ध सुराकी गर्दै आएकाले हत्या गर्नु परेको जनाएका छन्।

‘पटक पटक चेतावनी दिँदा पनि हामीविरुद्ध सुराकी गरेर नेता कार्यकर्तालाई गिरफ्तार गराइरहेका थिए’, विज्ञप्तिमा भनिएको छ, ‘पटक-पटक सच्चिन आग्रह गर्दा नसुध्री उल्टै हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको हो।’

प्रधानाध्यापक श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची-कोसी बैठकका क्रममा प्रहरी बोलाएर दमन गराउन भूमिका खेलेको आरोप विप्लव समूहले लगाएको छ। इन्चार्ज प्रतापले आफूहरुद्वारा गठित सेनाविरुद्ध पनि सशस्त्र प्रहरी लगाएर सर्च अपरेसन चलाएको आरोप प्रधानाध्यापक श्रेष्ठमाथि लगाएका छन्।

श्रेष्ठकै सुराकीका आधारमा मेची-कोसी व्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराउनुका साथै पार्टीको महत्वपूर्ण दस्तावेज र एक लाख रुपैयाँ ‘लुट्न’ सघाएको दाबी पनि प्रतापले गरेका छन्।

आफूहरुविरुद्ध सुराकी गरेको थाहा पाएपछि गत साउनदेखि नै सुध्रिन पटक-पटक आग्रह गर्दा पनि उनले नटेरेको पनि विप्लव समूहले जिकिर गरेको छ।

‘हामीले पटक पटक सम्झाउँदा पनि उनले उग्र गतिविधि गरिरहेका थिए। यस पटक पनि सम्झाउने क्रममा हतियारसहित आक्रमण गरेकाले प्रतिकारका क्रममा ज्यान गएको हो’, प्रतापले अन्तिममा भनेका छन्।

यसअघि, ५४ वर्षीय श्रेष्ठको विप्लवका कार्यकर्ताले गोली हानी हत्या गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले दिएका थिए। श्रेष्ठको शव घरबाट करिब २ किलोमिटर पर बर्खेको जंगलमा भेटिएको थियो।

मंगलबार बिहान सवा ६ बजेतिर ४-५ जनाको संख्यामा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरेर लगेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *