काठमाडौं, २४ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डलाई शर्त सहित सहकार्यको प्रस्ताव राखेका छन् । शर्त हो, वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोड्नुपर्ने ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेता नेपालसँगको सहकार्य तोडेर आए सहकार्य गर्ने प्रस्ताव अघि सारेका हुन् । खुमलटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई वरिष्ठ नेता नेपालसँगको सहकार्य तोडेमा सहमति हुने बताएका हुन् ।
यसअघि, अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्र भन्दै त्यो फिर्ता नभएसम्म बैठकमा समेत नआउने शर्त सारेका प्रधानमन्त्री ओलीले नयाँ शर्त अघि सारेका हुन् ।
स्रोतका अनुसार बुधबारको भेटमा अध्यक्ष प्रचण्डलाई ओलीले भनेका थिए, ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । माधव नेपाल धोकेबाज हो । तपाई र म मिलौं ।’
तर अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । अध्यक्ष प्रचण्डले भनेका थिए, ‘माधव कमरेडलाई म राम्ररी चिन्छु । तपाईं भन्दा उहाँसँग बढी सहकार्य गरेको छु । तपाईं जेलमा भएको बेला पनि मैले उहाँसँग सहकार्य गरेको छु । ३५ वर्ष अघि पनि हामीले पञ्चायतविरुद्ध आन्दोलनको कार्यक्रम बनाएका छौं । सँगसँगै लडेका छौं ।’
विद्यार्थी र मजदुरको आन्दोलनको कार्यक्रम माधव नेपालसँगै मिलेर बनाएको प्रचण्डले ओलीलाई बताएका थिए । यसअघि प्रधानमन्त्री ओलीले नेपालसँगको भेटमा सहकार्यको प्रस्ताव गरेका थिए । वरिष्ठ नेता नेपाललाई अध्यक्ष र प्रधानमन्त्रीको प्रस्ताव सहित पूर्व एमाले समूहको नेतृत्व गरेर जान आग्रह गरेका थिए । तर, वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरेका थिए ।
नेकपाको जारी विवाद बहुमत–अल्पमतको आधारमा टुंगो लगाउने तयारी भइरहेको बेला अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समीकरण भत्काउने प्रयास जारी राखेका छन् ।
चार दिन अघिसम्म ओली निकट दोस्रो पुस्ताका नेताहरुले पटक पटक भेटेर नेपाललाई पूर्व एमालेको नेतृत्व लिन आग्रह गरेका थिए । तर नेपालले अस्वीकार गरेपछि केही दिन नेपाल विरुद्ध ओली निकट नेता तथा कार्यकर्ताहरु आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् ।
