काठमाडौं, २५ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक मङ्सिर २८ गतेसम्म स्थगित गरेको छ । त्यसबीचमा सदस्यहरूलाई बैठकमा पेस भएका पार्टी अध्यक्षद्वय (केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड) का प्रस्तावलगायत अन्य दस्तावेजहरू अध्ययनका लागि समय दिइएको बताइए पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गठबन्धन टुटाउने प्रयासमा लागेको नेकपाका नेताहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीले बुधबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर बालुवाटारमा छलफल गरे । पौनेघण्टा भएको छलफलमा प्रधानमन्त्रीले नयाँ, ठोस प्रस्ताव नगरेको र विद्यमान सङ्कट निवारणका निम्ति कुनै विकल्प प्रस्तुत नगरेको प्रचण्डनिकट स्रोतले जानकारी दियो ।
‘प्रधानमन्त्री ओलीले दुई अध्यक्ष छलफल गरौँ भनेर निकै ताकेता गरिरहनुभएको थियो,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘भेटघाटका क्रममा अर्थपूर्ण कुराकानी हुन सकेन । उहाँले खाली सहकार्य गरौँ भनेर मात्रै जोड दिनुभयो ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वार्ताका लागि मङ्गलबार नै निम्तो दिएका थिए । तर, दुई अध्यक्षको छलफलको उपादेयता महसुस नगरेको प्रचण्डले इन्कार गर्दै आएका थिए ।
‘तै पनि प्रधानमन्त्री ओलीले कुनै विकल्प प्रस्तुत गर्नुहुन्छ कि भनेर अध्यक्ष एक्लाएक्लै छलफलका लागि जानुभएको थियो । उही पुरानै छलफलको निरन्तरताजस्तो देखियो,’ प्रचण्डनिकट स्रोत भन्छ ।
वार्ताका क्रममा प्रधानमन्त्री ओलीले दुई अध्यक्ष नै मिलेर निकास दिनुपर्ने बताएका थिए । उनले नेता नेपालबाट धोका हुनसक्ने भन्दै सचेत गराएको प्रचण्डनिकट स्रोतको जिकिर छ ।
“नेता नेपालसँग सहकार्य गर्नुभन्दा दुई अध्यक्ष मिल्नुनै एकता र आन्दोलनको हित छ भन्नेमा उहाँको जोड थियो । नेता नेपालले जुनसुकै बखत धोका दिनसक्ने भन्दै सचेत गराउन खोजेको र त्यसमा गठबन्धन टुटाउने नियत प्रष्टै देखियो,” प्रचण्डनिकट नेता भन्छन् ।
माधव नेपालप्रति क्रुद्ध
सचिवालयमा केपी शर्मा ओली अल्पमतमा छँदैछन्, एकतादेखि नै । उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा बादललाई प्रभावमा पारेर पार्टी र शासनसत्ता जोगाउँदै आएका थिए ।
बादल पूर्वमाओवादी केन्द्रको एउटा धारको प्रतिनिधित्व गर्छन् । अल्पमतमा रहेको धार भए पनि त्यसले पार्टीभित्र धेरैथोरै प्रभाव राख्छ । त्यही अन्तरविरोधमा खेलेर ओलीले बादललाई प्रभावमा राख्दै आएका छन् । त्यसो त बादलको केही स्वभावजन्य कारणले पनि ओलीले राहत महसुस गर्दै आएका छन् ।
वामदेव गौतमसँग भने उनको लभ–हेट (प्रेम–घृणा) को सम्बन्ध रहँदै आएको छ । गौतमलाई रिझाउन एक वर्ष सङ्गठन विभाग प्रमुख, विधानमै नभएको उपाध्यक्ष पद र राष्ट्रियसभा सदस्य बनाए पनि उनी ओलीको कित्तामा स्पष्टरूपमा उभिन सकेका छैनन् ।
तथापि, वैशाख १७ को सचिवालय बैठकमा र साउन १३ गतेको बहुमत स्थायी कमिटी सदस्यको भेला-बैठकमा वामदेवले ओलीलाई साथ दिए । वामदेव गौतमकै भूमिकाका कारण पनि ओलीको दुवै पद जोगिँदै आएको छ । जब कि, तेस्रो स्थायी कमिटी बैठकमा नेता गौतमले नै ओलीले एकपद छाड्नुपर्ने लिखित प्रस्ताव पेस गरेका थिए ।
अहिले पनि उपाध्यक्ष गौतम ओलीलाई साथ दिने पक्षमा छैनन् । पटक–पटक काँध थाप्दा पनि धोकाबाहेक नपाएको भन्दै गौतम फर्किने मुडमा देखिएका छैनन् । उनले तल–तल भेला गरेर ओलीविरूद्ध जनमत बनाउन निर्देशन नै दिइसकेका छन् । ओलीले पार्टी फुटाउने तयारी गरेको भन्दै प्रतिवाद गर्नसमेत निर्देशन दिएका छन् ।
गौतमलाई मनाउने कोसिस विफल भएपछि पूर्वएमाले एक हुनुपर्छ भन्दै तेस्रो अध्यक्ष, महाधिवेशनपछिको अध्यक्षलगायत प्रस्ताव गरेर ओली पक्षले नेपाललाई पनि मनाउने प्रयत्न गरेको थियो । धेरै चरणका वार्ता, छलफलहरू भए । ओली आफैँले पनि नेता नेपालालाई बालुवाटार बोलाएर सहकार्यको प्रस्ताव गरे । हात बढाए ।
तर, नेपालले ‘उधारो प्रस्ताव होइन, नगद, हाताहाती नै चाहिन्छ’ भनेर सहमतिमा नआएको भन्दै ओली पक्ष अहिले नेता नेपालप्रति आक्रामक छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले नेता नेपाल सिद्धान्तविहीन भएको निष्कर्ष निकाल्दै विधि देखाउन दाँत भएको चित्रित गर्छन् । शङ्कर पोखरेलले पनि नेता नेपाल सहमतिमा आउन नचाहेको भन्दै अभिव्यक्ति दिइरहेका छन् ।
“पार्टी एकताको रक्षा, सुदृढीकरण, आन्दोलनको विकास भन्दा पनि उहाँलाई प्रचण्डकै कार्यकर्ता बन्ने चिन्ता छ । प्रचण्डलाई आन्दोलन कसरी सुम्पने भन्ने हतारो छ,” प्रधानमन्त्री ओली निकट एक नेता भन्छन् ।
नेता नेपाल, उपाध्यक्ष गौतम कसैलाई पनि मनाउने प्रयत्न सफल हुन नसकेपछि ओली पक्ष पुनः प्रचण्डलाई नै मनाउने कोसिस गरिरहेको नेकपाका नेताहरूको बुझाइ छ ।
तर, यसपटक ओलीलाई निराशाबाहेक केही हात नलाग्ने उनीहरूको निष्कर्ष सुनाउँछन् ।
