काठमाडौं, २५ मंसिर–विश्व स्वास्थ्य संगठनले विश्वका १६ प्रतिशत जनसंख्याको मृत्युको कारण मुटुरोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । संगठनले सन् २००० देखि २०१९ सम्मको तथांकलाई लिएर गरेको अध्ययनमा नसर्ने रोगबाट मृत्यु हुने कारणमा मुटुरोग पहिलो नम्बरमा देखाएको छ ।
९ डिसेम्बरमा सार्वजनिक गरिएको ग्लोबल हेल्थ इस्टिमेट २०१९ नामक प्रतिवेदनमा १९ वर्षको अवधिमा मुटुरोगबाट मृत्यु हुनेको संख्या २० लाखबाट बढेर ९० लाख पुगेको उल्लेख गरिएको छ । मुटुरोगपछि क्यान्सर, मधुमेह र दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी रोगलाई मृत्युको प्रमुख कारण देखाइएको छ ।
अमेरिका र युरोपियन मुलुकहरुमा भने अल्जाइमर र डिमेन्सियासँग सम्बन्धित रोगहरु मृत्युको दोस्रो कारण देखाइएको छ ।
विश्वमा डिमेन्सियासम्बन्धी रोगबाट मृत्यु हुनेमा ६५ प्रतिशत महिला छन् । प्रतिवेदनअनुसार निमोनिया र गम्भीर प्रकृतिका श्वासप्रश्वास सम्बन्धी रोग मृत्युको चौथो कारणको रुपमा उल्लेख गरिएको छ ।
मध्यम आय भएका मुलुकहरुका लागि भने सरुवा रोग नै अझै चुनौतीकारुपमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा मलेरिया, एचआइभी, क्षयरोगलगायत छन् ।
त्यस्तै सरुवा रोगपछि सवारी दुर्घटना मृत्युको अर्को प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ । अफ्रिकन मुलुकहरुमा सवारी दुर्घटनाको दर दुईदशकमा ५० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
सवारी दुर्घटनाका कारण पूर्वीय मुलुकहरुमा ज्यान गुमाउनेमा ७० प्रतिशत पुरुष रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
