काठमाडौं, ५ पौष–कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले निरन्तर घेराबन्दी गरेर अफ्ठेरोमा पारेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेका छन्।

शनिबार दिनभर खुमलटारदेखि शीतल निवाससम्म दौडधुप गरेका प्रधानमन्त्री ओलीले संसद विघाटनसम्मको कदम चाल्ने संकेत हिजै दिएका थिए।

बिहीबार भएको भेटमा प्रचण्डले आफू मात्रै बालुवाटार धाइरहेको गुनासो गरेपछि प्रधानमन्त्री ओली शनिबार बिहान खुमलटार पुगेका थिए।

जहाँ उनले प्रचण्डसँग एक्ला एक्लै वार्ता गरेका थि। एकल वार्ता सकिएपछि ओलीले उपाध्यक्ष वामदेव गौतमलाई साक्षी राखेर प्रचण्डसँग संवाद गरेका थिए।

तर त्यहीँ रहेका वरिष्ठ नेता नेपाल र ओलीबीच संवाद नै भएन। नेता नेपालले ओलीसँग भेट्न अस्वीकार गरेपछि ओली पुल्चोक आएका थिए।

पुल्चोक आएका उनले त्यहाँ गृहमन्त्री रामबहादुर थापा बादलसँग पहिले भेटेर अन्य चार मन्त्रीसँग संवाद गरेका थिए।

त्यसक्रममा ओलीले पुल्चोकस्थित सरकारी निवासमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल र कानुनमन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई भेटेका थिए।

जहाँ उनले प्रचण्डसँगको खुमलटार वार्ताले खासै सकारात्मक परिणाम नदिएको भन्दै निराशा व्यक्त गरेका थिए। त्यहीँ मन्त्रीहरुसँगको संवादका क्रममा ओलीले समस्या समाधान नभएको भन्दै केही कठोर कदम चाल्न सक्ने संकेत गरेका थिए।

‘प्रधानमन्त्रीसँग हामीले त्यसरी अन्तरक्रिया गर्न नपाएको धेरै भएको थियो। तर उहाँ खुमलटारबाट फर्किँदा अनुहारमा निराशा झल्केको देख्यौँ’ एकजना मन्त्रीले भने, ‘उहाँले पनि अब धेरै गाह्रो भएकाले कठोर कदम चालेर अघि बढ्ने अवस्था आइसकेकोतर्फ संकेत गर्नुभएको थियो।’

पुल्चोकबाट शीतल निवास पुगेका ओलीले त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्भावित कदमबारेमा लामो छलफल गरेका थिए। बुधबार बसेको नेकपा स्थायी कमिटीले फिर्ताको निर्णय लिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे पनि दुईजनाबीच कुरा भएको थियो।

स्रोतका अनुसार संसदको विशेष अधिवेशन माग्दै नेकपाकै सांसदहरुबाट गरिएको हस्ताक्षर अभियान सेलाउन नपाउँदै ओलीविरुद्ध अविश्‍वासको प्रस्ताव अघि बढाउने तयारी दाहाल-नेपालको थियो। अविश्‍वासको प्रस्ताव लिएर दाहाल-नेपाल समूह शीतल निवाससम्म पुग्‍ने अवस्था आएपछि ओलीले संसद नै विघटन गरिदिएका हुन्।

ओलीले मंगलबार जारी गरिएको अध्यादेश फिर्ता गर्न आनाकानी गरिरहेका थिए। उनलाई प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ रहेको अनुमानसहित नेपाल(दाहाल समूहले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत भेटेका थिए।

‌ओली पार्टीमा अहिले अल्पमतमा छन्। उनी पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा समेत अल्पमतमा रहेको अवस्थामा छ। ‘यस्तो अवस्थामा आफूविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने तयारी दाहाल-नेपाल समूहबाट भएको प्रधानमन्त्रीलाई आएको थियो’, उनीनिकट एक नेता भन्छन्, ‘त्यहीकारण संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ने निर्णयमा प्रधानमन्त्री पुग्‍नु भएको हो।’

ओलीले शीतल निवासबाट निस्किएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई केही गम्भीर निर्णय लिन लागेकाले तत्काल काठमाडौं आउन भनेका थिए।

मन्त्री गुरुङ गृह जिल्ला दोलखामा थिए। प्रधानमन्त्रीले चाल्न सक्ने गम्भीर कदमबारे मन्त्री गुरुङलाई विस्तृत थाहा नभएको उनीनिकट सहयोगी बताउँछन्। ‘प्रधानमन्त्रीको तर्फबाट गरिएको खबर गम्भीर थियो’, ती सहयोगीले भने, उहाँलाई तत्कालै फर्किन बालुवाटारबाट खबर आएको थियो।’

राष्ट्रपति भण्डारीसँग ओली सम्भावित विकल्पबारे गहन छलफल गरेपछि आइतवार मन्त्रिपरिषद् बैठक डाकेर संसद विघटन सिफारिस गरिदिएका हुन्। आफ्नै पार्टीबाट निरन्तर आक्रमणको सामना गरिरहेका ओलीले संसद विघटनसम्मको कठोर कदम चाल्न सक्ने यसअघि आँकलन गरिएको थियो।

तर शनिबारको उनको दौडधुपले पार्टीको विवाद मिल्ने दिशातर्फ अघि बढिरहेको अनुमानलाई गलत सावित गर्दै संसद नै विघटन सिफारिस गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *