काठमाडौं, ५ पुस–प्रमुख तीन दलले प्रधानमन्त्रीको कदम विरुद्ध संयुक्त प्रतिरोध गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र जनताको पछिल्लो जनादेशको उल्लंघन भएको भन्दै प्रतिरोध गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस र अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै प्रतिरोध गर्ने निर्णय गरेको हो ।
बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए । यसैगरी, छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाण, सांसद डा मीनेन्द्र रिजाल र नेता रमेश लेखक थिए ।
जसपाका तर्फबाट राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र महतो र जितेन्द्र सोनल सहभागी थिए ।
छलफलले सरकारको असंवैधानिक कदमका विरुद्ध सबै दलहरूबीच सहकार्य गर्दै अघि बढ्ने निष्कर्ष निकालेको कांग्रेसका प्रमुख सचेतक खाणले जानकारी दिए।
