काठमाण्डौं, ५ पौष–प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदबाट प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाललाई बोलाएर मिलेर चुनावमा भाग लिएर जितेर आउन प्रस्ताव गरेका छन् ।
स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीसँग भएको संवादबारे ब्रिफिङ सुनाउँदै प्रचण्डले त्यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषदबाट विघटनको सिफारिस भएको जानकारी पाएलगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
‘म विघटनको जानकारी पाएपछि बालुवाटार पुगेको थिएँ । उहाँले विघटन गर्ने त मैले निर्णय गरिसकेँ, जे हुनु भइहाल्यो, अब मिलेर चुनावमा जाऔँ, एकताबद्ध भएर लडौँ, जितेर आऔँ भन्ने प्रस्ताव पो गर्नुभो,’ प्रचण्डले ओलीसँग भएको सवाल-जवाफबारे बैठकलाई गरेको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तपाईंले मिल्ने काम गर्नुभएको छ र सँगै मिलेर चुनावमा जाने ? अनि कसरी एकताबद्ध भएर जितेर आउने कुरा हुन्छ ? यत्रो च्यालेन्ज गर्ने जति काम गरिसकेपछि तपाईंले त्यस्तो प्रस्ताव गर्ने ?’
बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरूले भने कुनै सम्बोधन गरेनन् । बैठकले ओलीलाई अनुशासनको कारबाही गर्नका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लैजानेसहितको दुईबुँदे प्रस्ताव पारित गरेको थियो ।
