काठमाडौं, १८ पुस–प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार दोस्रो चरणको देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्दैैछ ।
यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको नेकपा प्रचण्ड–नेपाल पक्षले दोस्रो चरणको आन्दोलन अन्तर्गत स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने जानकारी दिएको छ ।
संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड–नेपाल पक्ष एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्न लागेको हो ।
त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । यस विषयमा छलफल गर्न समितिको बैठक अहिले बिहान ११ बजे बस्ने तयारी भइरहेको बताइएको छ ।
‘बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदैछ’, एक नेताले भने, ‘पहिलो चरणको कार्यक्रमको प्रभावकारी भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्न लागेका हौं ।’
दोस्रो चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताए पनि आन्दोलनमा रुची देखाएको छैन ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापालगायतका नेताहरु प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सडक संघर्ष गर्नुपर्ने पक्षमा छन् भने पार्टी सभापति देउवा उक्त कदमबारेको मुद्दा अदालतमा विचाराधीन रहेका कारण अदालतको फैसला पर्खनु पर्ने बताइरहेका छन् ।
