काठमाडौं, १९ पुस–कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आज (आइतबार) बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले आवश्यक परे विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्नेगरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय भएको बताए ।
यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भए बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भएरनभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए ।
नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायतलगायत विभिन्न २०र२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।
यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएकामा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रुपमा भराउने सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरुलाई निर्देशन दिनेसम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।
