काठमाडौं, २१ पुस–राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड-नेपाल र ओली खेमाले पार्टीको नाम र चुनाव चिह्न आफ्नै पक्षमा भएको जिकिर गरिरहेका छन् ।
निर्वाचन आयोगमा छुट्टाछुट्टै भेला र बैठकले गरेका निर्णयहरु पनि जानकारी पनि दिइसकेका छन् । अब पार्टी विभाजनले औपचारिकता पाउन बाँकी रहेको स्वीकारोक्ति नेताहरुको छ । ओली समूहका अध्यक्ष केपी शर्मा ओली र दाहाल-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरु एक-अर्काप्रति उछितो काढिरहेका छन् ।
यसको असर तल्लैतहसम्म परेको छ । पार्टी नेताहरु एक समूहमा सुरक्षित स्थान रोज्नमा व्यस्त छन् । तर, उपाध्यक्ष वामदेव गौतम भने पार्टीलाई एकीकरण गर्नुपर्ने अडानमा कायम छन् । पार्टीमा छुट्टाछुट्टै भेला हुन थालेपछि आफू सहभागी नहुने घोषणा गरेका गौतम भेलामा गएका पनि छैनन् । दुवै समूहले उनलाई आफ्नो पक्षमा आउन दबाब दिइरहेको छ । तर, उनी दुवै समूहलाई एक हुन दबाब दिने योजनामा छन् ।
के गरिरहेका छन् त वामदेव ?
गौतम पार्टीलाई एक बनाउन राष्ट्रिय अभियान नै चलाउने तयारीमा रहेको उनका निकटस्थहरु बताउँछन् । गौतमले विभाजित पार्टीलाई एक हुने रसायन खोजी गरिरहेको उनीहरुको भनाइ छ ।
‘अहिलेको विभाजन कुनै वैचारिक, सैद्धान्तिक विभाजन होइन । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुको कार्यशैलीमा समस्या हो,’’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदी भन्छन्, ‘कार्यशैली सच्याउन सके पनि पार्टी एकता हुन्छ । त्यो वातावरण निर्माणका निम्ति दबाबमूलक भूमिका पनि चाहिन्छ । त्यो भूमिका खेल्न उहाँ तटस्थ बसिरहनुभएको छ । त्यसका लागि एकता अभियान राष्ट्रिय रुपमा लैजाने र केन्द्रीय समिति बनाउने छलफलमा हुनुहुन्छ ।’
गौतमको सचिवालयका अनुसार हाल उनले केन्द्र, जिल्लाका नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् । पछिल्ला दिनमा उनको निवास भैंसेपाटीमा विभिन्न जिल्लाका नेताहरुको चहलपहल बढेको छ । गौतमले पार्टी एकीकरणको आधार पुष्टि गर्ने दस्ताबेज लेखिरहेको र त्यो केही दिनमा नै सार्वजनिक हुने सुवेदीले जानकारी दिए ।
ूएकताको आधार पुष्टि गर्ने गरी एकतासम्बन्धी अवधारणापत्र दस्ताबेज तयार गर्ने काम भइरहेको छ । त्यो केही दिनमै सार्वजनिक हुन्छ,’’ उनले भने ।
वामदेवको दुई रणनीति
वामदेवनिकट केन्द्रीय सदस्य हरि पराजुलीका अनुसार दुई चरणमा एकताको अभियान गर्ने तयारी भएको छ । सकेसम्म एकता जोगाउने नसके चुनावी गठबन्धन बनाउने गरी रणनीति अख्तियार गर्नेमा उनीहरु पुगेका छन् ।
ूएकताको अभियान दुई चरणमा हुन्छ । पहिलो चरण दल दर्ता नहुँदासम्म र अर्को चरण चुनावको मनोनय नगर्दासम्म एकता अभियान जारी रहन्छ,’’ उनले भने, ‘पुरानै पार्टीलाई कायम राख्ने प्रयास दल दर्ताको छिनोफानो नहुँदासम्म हो । दल दर्ता भयो भने त्यो अध्याय पूरा हुन्छ । सकेसम्म एकता जोगाउने पार्टी अलग-अलग भयो भने पहिले जस्तै संयुक्त गठबन्धन गरेर चुनावमा जाने ।’
पार्टी एकताको अवधारणापत्र ल्याउने बताउँदै कार्यदल बनाएर एकता गर्ने वातावरण सिर्जना गर्ने तयारी रहेको उनले बताए । ‘दल दर्ता नहुँदासम्मको अविधमा नेतृत्वलाई दबाब सिर्जना गर्ने हो । कार्यशैलीमा देखिएको मतान्तरलाई समाधान गरौं, बरु पार्टीभित्र तेस्रो पक्ष बनाऔं । तेस्रो पक्षले गृहकार्य गर्छ र मत भिन्नताहरुको अन्त्य गरौं । नयाँ कार्यविधि बनाएर अघि बढौं, पराजुली भन्छन्,’ एकताको अवधारणा पत्र ल्याउछौं । दुवै पक्षको मध्यस्तकर्ताको समिति बनाउन जोड दिन्छौं । र त्यहाँ पुग्यौं भने सफल हुन्छौं ।’
५०१ जनाको राष्ट्रिय परिषद्
पराजुलीका अनुसार ५०१ जनाको राष्ट्रिय परिषद् बनाउने गरी मस्यौदा तयार भएको छ । जन-दबाब सिर्जना गर्न केन्द्रीय समिति पनि बनाइने पराजुलीले जानकारी दिए । ‘५०१ जनाको राष्ट्रिय परिषद् र २५१ सदस्यीय केन्द्रीय समिति बनाउने भनेर डाफ्ट्र बनाएका छौं,’’ उनले भने ।
