एजेन्सी, ५ असार–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सामग्री फेसबुकले हटाइदिएको छ। आउँदो राष्ट्रपतीय निर्वाचनलाई लक्ष्य गरी ट्रम्पको प्रचारमा प्रयोग गरिएको सामग्रीलाई फेसबुकले आपत्तिजनक ठहर्‍याएको हो। ट्रम्पको प्रचार सामग्रीमा तत्कालिन नाजी जर्मनीले प्रयोग गर्ने त्रिभुजाकार चिन्हसँग मिल्दोजुल्दो चित्र प्रयोग गरिएको थियो। नाजीहरूले कम्युनिष्टसहितका विपक्षीहरूलाई दर्शाउन त्यस्तो प्रतीकको प्रयोग गर्थे।

ट्रम्पको प्रचारार्थ खटिएका अभियन्ताहरूले राजनीतिक अतिवादीहरूलाई संकेत गर्न त्यस्तो चिन्ह प्रयोग गरिएको दाबी गरेपनि फेसबुकले घृणाजन्य सामग्री ठहर्‍याउँदै हटाउने निर्णय गरेको हो। ‘हामी संगठित वा वैचारिक रुपमा प्रस्तुत गरिएका वा असान्दर्भिक रुपमा प्रस्तुत गरिएका घृणाजन्य चिन्ह वा प्रतीकलाई अनुमति दिँदैनौं’‚ फेसबुकका सुरक्षा नीति प्रमुख हेडिएन ग्लेचरले भने‚ ‘त्यस्तो कार्य गर्ने जो–कोहिप्रति हामी यस्तै एक्सन लिनेछौं।’

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको प्रचारार्थ प्रयोग गरिएको उक्त सामग्री हटाइनुअघि हजारौंले हेरेका थिए। ‘यस्तो त्रिभुजाकार चिन्ह एन्टिफाको संकेतका रुपमा प्रयोग गरिँदै आएको छ‚ त्यसैले विज्ञापनमा प्रयोग गरिएको हो’‚ ट्रम्पका चुनावी अभियानका प्रवक्ता टिम मूर्तफले वक्तव्य जारी गर्दै भनेका छन्। फाँसीवादविरुद्धको अभियानलाई एन्टिफा भनिन्छ‚ जसको पूरा रुप एन्टी–फाँसीवाद हो। अमेरिकामा हालै भएको दंगामा एन्टिफाको हात रहेको भन्दै ट्रम्पले चर्को आलोचना गरेका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *