दमक, १० माघ–झापाको शिवसताक्षी नगरस्थित दूधे माइधार सडक खण्डमा यात्रुबाहक बसमा तोडफोड गरिएको छ । अज्ञात युवाहरुको समुहले काँकरभिट्टाटाबाट धरानतर्फ जाँदै गरेको बसमा तोडफोड गरी आगजनी गर्ने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षीको किराँत चोकमा घरेलु हतियार खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेका हुन् ।
किराँत चोकमा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बस रोकेर खुकुरीसहित आएका उनीहरुले बसको सिट काटेका छन्।
बसमा खुकुरी र ढुंगा प्रहार गरी अगाडी पछाडीको सिसासहित झ्यालहरु फुटाइएको इलाका प्रहारी कार्यालय झिलझिले जनाएको छ । प्रहरीका अनुसार किँरात चोकमा बसेका तीन जनाको समूहले उक्त बस रोकी तोडफोड गरेका हुन् । तोड फोड गर्ने समूह उत्तरतर्फको जंगलतर्फ भागेको बताइएको छ ।
आगजनी प्रयास गरेपछि बसमा रहेका यात्रुहरू चिच्याएको कारण आगजनीबाट जोगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादीको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।
नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दका बाबजुद पनि झापामा सार्वजनिक यातायातका साधन बिहानैदेखि सञ्चालनमा आएका थिए।
