एजेन्सी, ६ असार–ब्राजिलमा कोभिड–१९ ९कोरोना० संक्रमितको संख्या १० लाख नाघेको छ। त्यहाँ अहिलेसम्म १० लाख ३२ हजार ९१३ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ४८ हजार ९५४ जनाले ज्यान गुमाएका छन्। ब्राजिलमा अमेरिकापछि कोरोनाको सबैभन्दा खराब असर देखिएको छ।

संक्रमित र ज्यान गुमाउनेको संख्या हेर्दा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ। १० लाखभन्दा बढी कोराना संक्रमित भेटिएको दोस्रो मुलुक पनि ब्राजिल नै बनेको छ। पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ५४ हजार नयाँ संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार लगातार चौथो दिन पनि ब्राजिलमा एक हजार २०० भन्दा बढी संक्रमितको ज्यान गएको छ।

विशेषज्ञहरूले अझै पर्याप्त परीक्षण नभएको र महामारीले उग्ररूप लिन बाँकी नै रहेको चेतावनी दिएका छन्। जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अमेरिकामा हालसम्म फेला परेका संक्रमितको संख्या २२ लाख १९ हजार ६७५ पुगेको छ। त्यहाँ एक लाख १९ हजार ९९ जनाको ज्यान गइसकेको छ।

अमेरिका, ब्राजिल र रुसपछि भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकहरुको चौथो स्थानमा छ। भारतमा अहिलेसम्म तीन लाख ८० हजार ५३२ जना संक्रमित फेला परेका छन्। १२ हजार ५७३ जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म ८६ लाख ३९ हजार २३ जना संक्रमित भेटिएका छन्। चार लाख ५९ हजार ४३७ जना संक्रमितको मृत्यु भएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *