काठमाडौं, ६ असार–बार्सिलोनाले स्पेनिस ला लिगामा दोस्रो स्थानको रियल म्याड्रिडसँग पाँच अंकको अग्रता लिने मौका गुमाएको छ। शुक्रबार राति सेभियासँग गोलरहित बराबरी रोकिएसँगै बार्सिलोनालाई घाटा परेको हो।
अब आइतबार रियल म्याड्रिडले रियल सोसिडाडसँग खेल्दैछ। सो खेलमा रियलले जित हात पारे बार्सिलोनासँग अंक बराबरी गर्नेछ। सो अवस्थामा ला लिगाको उपाधि भिडन्त खुला रहनेछ।
अंक तालिकाको शीर्ष टिम बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ भने एक खेल कम खेलेको दोस्रो स्थानको रियलको ६२ अंक छ। तेस्रो स्थानको सेभियाले ५२ अंक बटुलेको छ।
शुक्रबार रातिको खेलमा बार्सिलोनाका कप्तान लिओनल मेसीले पहिलो हाफमा हानेको फ्रिकिक बारमा लागेको थियो। यस्तै, ब्रेकअघि सेभियाका लुकास ओकाम्पोसको प्रहार पनिन क्रसबारमा लागेको थियो।
अब बार्सिलोनाले मंगलबार एथ्लेटिक बिल्बाओसँग खेल्नेछ। सो खेलमा मेसीले करिअरको ७ सय गोल गर्ने सम्भावना छ।
