दमक, ६ असार–गर्मी र बर्षाको मौषम शुरु भएसंगै तराईमा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाद्धारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महीनाको तथ्यांकले सर्पदंशका बिरामीहरु बढेको पाईएको हो ।

उपचार केन्द्रमा गत चैत महीनामा ४२ जना सर्पदंशका बिरामीको उपचार भएको थियो भने बैशाख महीनामा ४४ जनाको उपचार भएको थियो । तर जेठ महीनामा भने बिरामीको संख्या बढेर ८० जना पुगेको देखिएको छ भने असारको ६ दिनमै ३१ जना सर्पदंशका बिरामीहरुले उपचार केन्द्रबाट उपचार पाएका केन्द्रका प्राबिधिक हेमचन्द्र अधिकारीले जानकारी दिए ।

सो सर्पदंश उपचार केन्द्रमा बार्षिक १५ सयका हाराहारीमा सर्पदंशका विरामीले उपचार सेवा पाउदै आएका छन् ।चिसो र सुख्खा मौषममा दुलो भित्र रहने सर्पहरु गर्मीसंगै बर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक बर्ष यो मौषममा सर्पदंशका बिरामीहरु बढ्ने गरेको उनले बताए ।

तराई क्षेत्रमा गोमन, करेत जस्ता बिषालु सर्पको डसाईका बिरामीहरु आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउ जस्ता सर्पले टोकेका बिरामीहरु यहाँ आउने गरेको उपचार केन्द्र ईन्चार्ज देवी प्रसाद भण्डारीले बताए ।

गर्मी र बर्षाको मौषममा सर्पको टोकाईको जोखिम धेरै हुने भएकोले घर वरिपरिको सरसफाईमा ध्यान दिन उपचार केन्द्र प्रमुख भण्डारीले आग्रह गरे । त्यसैगरी राती अँध्यारोमा हिँड्दा टर्च लाईट लिएर मात्रै निस्कनु पर्ने, दाउरा घाँस गर्दा पुरा बहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उनले बताए ।

त्यसैगरी, बिषेस गरी करेट सर्पले घर मित्रै टोक्ने भएकाले राती सुत्दा भुईंमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाई बाट बच्न सकिने उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *