काठमाडौं, २६ माघ–ज्लाटन इब्राहिमोभिच चम्कदा एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा क्रोटोनलाई ४–० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले २–२ गोल गरे । खेलको ३० औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । गोलसँगै इब्राहिमोभिचले क्लब फुटबलमा करिअरको ५०० औं गोल पूरा गरे ।
६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । ६९ औं मिनेटमा रेबिकले गोल गर्दा मिलानले आफ्नो अग्रता अग्रता ३–० को बनायो ।
७० औं मिनेटमा रेबिकले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ४–० को जित दिलाए । जितसँगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ । इन्टरले ४७ अंक रहेको छ । क्रोटोन १२ अंकसहित तालिकाको पुछारमा छ ।
