काठमाडौं, २६ माघ–प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माघ २८ गते बिहीबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र शुरु हुने स्थानहरुबारे विवरण सार्वजनिक गरेको छ ।
नेकपाले बिहीबार बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने जानकारी दिएको छ । त्यसमध्ये पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्तलगायतले गर्नेछन् ।
त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल र जनार्दन शर्मालगायतले गर्नेछन् । त्यस्तै, माइतीघरबाट अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेललगायत नेताहरुले गर्ने सो पार्टीले जनाएको छ ।
यस्तै, केशरमहलबाट शुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरुले गर्ने जनाइएको छ । त्यसैगरी, जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरुले अगुवाइ गर्ने छन् । ती जुलुसहरुले राजधानीको बिभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम छ ।
नेकपाले यस पटकको प्रदर्शनलाई अहिलेसम्मकै वृहत बनाउने तयारी गरिरहेको छ । नेकपाले यसअघि काठमाडौं, विराटनगर, धनगढी, बुटवललगायतका शहरहरुमा शक्ति प्रदर्शन गरिसकेको छ ।

